डण्डिफोर रै’छ नि त ! : प्रेमकथा

मेरो छातीको सिरानीमा आफ्नो च्युँडो अड्याएर आफ्ना एकजोर आँखाहरूले मेरा अर्काजोर आँखाहरू परेली नझिम्क्याईकन निकैबेर नियालिरहन्थ्यौ तिमी!
‘के हेरेकि?’ म आँखा झिम्क्याएर सोध्थेँ।
‘मैले जितेँ।’ हाँस्थ्यौ तिमी। मलाई नै थाहा नदिई परेली झिम्क्याउने खेल खेलेकि हुन्थ्यौ तिमीले। आँखा जुधाई खेल। अनि मेरा करंगमाथि आफ्नो कुहिनोले टेकेर उठिदिन्थ्यौ!
‘ऐय्या! के गरेकि?’ म रिसाउँथेँ।
म रिसाएको देखेर मलाई चिढ्याउन काखि बजाएर ‘खुच्चिंग!’ भन्थ्यौ तिमी। 
‘अर्कालाई दुखाउँदा मज्जा लाग्छ तिमीलाई?’ म अझै रिसाउँथेँ।
‘मलाई दुखाउँदा तिमीलाई पनि त मज्जा आउँछ नि!’ तिमी नहाँसि भन्थ्यौ। तर म हाँसो रोक्न सक्दिनथेँ।
‘ए त्यसो पो?’ म बेस्सरी हाँसिदिन्थेँ!
तिमी एकछिन वाल्ल पर्थ्यौ र ढिला बुझेजसरि अत्तालिँदै भन्थ्यौ, ‘हैन हैन मैले त मलाई तिमीले चिमोट्थ्यौ नि? त्यो पो भनेको त!’
‘अँ अँ बुझियो!’ म झन् बेस्सरी हाँसिदिन्थेँ!
तिमी रूँला रूँला जस्तोगरि मेरो हाँसो रोक्न मेरो मुख थुन्न आउँथ्यौ। म तिम्रा हातमै चुमिदिन्थेँ!
तिमी साँच्चिनै रोईदिन्थ्यौ। म तिमीलाई अँगालेर फकाउँथेँ। तिमी मेरै अँगालोमा लुटुपुटु गरिरहन्थ्यौ!

लेखकः सुरेश बादल

यो भन्दा अलि अगाडि। 
म तिमीलाई चियापसलमा कुरिरहन्थेँ। तिमी हाम्रा चियाहरू सेलाइसकेपछि आइपुग्थ्यौ। ढिला भएर म रिसाउँछु होला भन्ठानेर चिसै चिया पनि फू फू गरेर फुक्दै पिउँथ्यौ तिमी! एकोहोरो बोलिरहन्थेँ म, चुपचाप सुनिरहन्थ्यौ तिमी!
‘केहि त तिमी पनि बोल न!’ म भन्थेँ।
‘हैन, तिमीलाई नै सुनिरहुँ लाग्छ।’ तिमी भन्थ्यौ।
तिमीले चालै नपाउने गरि हाम्रा जुठा चियाका कपहरू साटिदिन्थेँ म। तिमी चाल पाए पनि नपाएजसरी मेरो जुठो कपको बीटमा लिपिस्टिकको रंग लाग्नेगरि चिया पिइदिन्थ्यौ!
हामी चिया पिएर निस्किन्थ्यौँ। बाहिर पसलको सीसामा तिमीलाई कुममा हल्का छोएर टक्क रोक्थेँ हरेक दिन। र हेर्थेँ त्यहि ऐनामा हाम्रा अनुहारहरू। तिमी के गरेको होला भनेर जिल्ल पर्थ्यौ।
‘त्यसै!’ म भन्थेँ।
तर था’छ तिमीलाई? त्यो ऐनाको प्रतिबिम्बमा उभिएको जोडि संसारकै सुन्दर जोडि लाग्थ्यो मलाई।

यो भन्दा अझै अगाडि। 
च्याटमा गफ गर्दा कहिल्यै अघाएनौँ हामी। तिमीले फोटो पठाउन भन्थ्यौ। म पठाउन्नँ भन्थेँ। तिमीलाई के थाहा मसँग फोटो खिच्ने मोबाइल नै थिएन नि त! अलि पछि फोटो खिच्ने मोबाइल किनेपछि मैले तिमीलाई दिनरात फोटो पठाएँ। तर पनि तिमीलाई मेरो नियास्रो लागि नै रह्यो। र त एकदिन भन्यौ, ‘भिडियो अन गर न!’
‘एकछिन है त!’ भनेर मैले टाउको नुहाएर, जेल हालेर एकघन्टा पछि मात्र अनलाइन आएको थिएँ।
यतिगर्दा पनि तिमीले भनेकि थियौ, ‘डण्डिफोर रै’छ नि त!’
‘हैन, दागमात्र हो!’ निन्याउरो भएर भनेको थिएँ मैले।
‘अलिअलि दाग त मेरो पनि छ। रूपले हैन, मान्छे सुन्दर हुने त मनले हो।’ यति भनेर भाँचिन आँटेको मेरो मनलाई झन् दह्रो पारिदिएकि थियौ तिमीले।
‘भेटौँ न हामी।’ प्रस्ताव मैले राखेको थिएँ।
‘भैहाल्छ नि।’ मभन्दा पनि धेरै खुशी त तिमी भयौ सायद!

यो भन्दा पनि अझ्झ धेरै अघि!
मेरो फेसबुकमा तिम्रो फ्रेण्ड रिक्वेस्ट आएको थियो रे! तर तिमी पनि थियौ भन्ने मलाई थाहा थिएन किनकि अरू पनि धेरै केटिहरूका रिक्वेस्ट आएका थिए। तिमीलाई ठ्याक्कै याद गरेको त तबमात्र हो जब तिमी आफैँले च्याटमा मलाई बोलाएकि थियौ!

र अहिले। 
यी सब कुराहरू सम्झिएर यसरी टोलाइरहेछु म कि तिमी फ्याट्ट अगाडि आएर आँखा जुधाई खेल्यौ भने पनि हार्नेछौ। किन थाहा छ? आजकाल तिम्रो यादमा टोलाउँदा टोलाउँदा बन्द हुनै मान्दैनन् मेरा एक जोर परेलीहरू!

लेखकलाई तलको लिंकबाट फेसबुकमा पछ्याउन सकिन्छ ।
सुरेश बादल

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड