सबै दललार्इ सत्तापक्ष बन्न प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दललार्इ सत्तापक्ष बन्न अाग्रह गरेका छन् । राजनीतिक दलहरु सत्ता पक्ष र प्रतिपक्षको रुपमा विभाजित हुन नहुने भन्दै उनले देशको विकासका लागि सबै दल सत्तापक्ष हुनुपर्ने तर्क गरे । नेपाल पत्रकार महासंघ प्रदेश ४ को नवनिर्वाचित नेतृत्वको आइतबार आयोजित पदस्थापन कार्यक्रमलार्इ सम्बाेधन गर्दै प्रचण्डले विकास, समृद्धि र स्थायित्वका लागि सबै दल मिलेर जानुको विकल्प नभएको बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भूकम्पपछि देश संकटमा परेको बेला आफूले सत्तापक्ष र प्रतिपक्षबीचको खाडल भत्काएको दाबी समेत गरे ।

‘अहिले पनि सत्तापक्ष र प्रतिपक्ष विभाजित हुनुहुँदैन,’ प्रचण्डले भने, ‘विकास, समृद्धि र स्थायीत्वको लागि सबै सत्तापक्ष हुनुपर्छ र यसमा सबै आउनुपर्छ ।’ उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न सक्ने खालका शब्दहरु कतै प्रयोग गर्न नहुने धारणा समेत राखे । ‘प्रेस स्वतन्त्रतालाई कुठित गर्न सक्ने ईफ, बट, वा, तर, यदिलगायतका शब्द राख्न हुन्न भन्ने पक्षमा म छु,’ उनले भने, ‘यसले भविष्यमा प्रेस स्वतन्त्रतामा अंकुश लगाउने ठाउँ दिन सक्छ ।’ सत्ता पक्ष र राजनीतिक दल दललाई चेक एण्ड ब्यालेन्समा राखिराख्न पनि प्रेस स्वतन्त्रता आवश्यक रहेको प्रचण्डकाे भनाइ थियाे । उनले युद्ध र शान्ति प्रक्रियामा कहिलेकाहिँ कमजोरी भए पनि पत्रकारितालाई कहिल्यै आग्रह वा पूर्वाग्रहमा राखेर काम नगरेको समेत स्पष्ट पारे ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड