दुईबर्षमा एउटा फिल्म गरेका अनमोलको एकै बर्ष तीन फिल्म

अनमोल केसी अहिलेका युवा स्टार हुन् । पाँचबर्ष अघि चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका अनमोलको अहिलेसम्म गरेका सबै चलचित्रहरु ब्यापारिक रुपमा गज्ज्बको रह्यो । पछिल्लो समय चलचित्रमा लगानी गरेर लगानी समेन नउठी रहेको समयमा उनलाई निर्माताका लगानी उठाईदिने र केहि रकम नाफा समेत गरिदिने नायकका रुपमा लिन थालिएको छ ।

२०१३ मा चलचित्र ‘होस्टेल’मा काम गरेपछि अनमोलको गज्जबको फ्यान कमाए । अलिअलि ‘होस्टेल’मा गरेको अभिनयको कारणले कमाए भने धेरै चर्चा चाँही भुवन केसीको छोरा भएको कारणले । पहिलो फिल्ममा उनको अभिनयको भन्दा पनि चकलेटी लुक्सका फ्यान धेरै भए । फ्यान पनि केटाभन्दा केटी फ्यानहरु बढी छन् उनका ।

पहिलो चलचित्रको सफलता पछि २०१४ मा उनले दोश्रो चलचित्र ‘जेरी’मा काम गरे । जेरी सुपरहिट भयो । चलचित्रमा उनको अभिनय हेर्न भन्दा पनि उनको लुक्स हेर्नकै लागि हलहरुमा दर्शकका भीड बढ्यो । दोश्रो चलचित्र सफल भएपनि उनको अभिनयमा भने पहिलो चलचित्रको भने खासै फरक नदेखिएको चर्चा मिडियादेखी सामाजिक संजालसम्म चल्यो ।

दोश्रो चलचित्र रिलिज भएको १ बर्षको बिश्रामपछि २०१६ मात्र उनी अर्को चलचित्र ‘ड्रिम्स’मा देखिए । चलचित्रमा बुवा भुवन केसीको निर्देशन र छोरा अनमोल केसीको अभिनयको कारणले दर्शकलाई हलसम्म तान्न धेरै मद्धत गर्यो । चलचित्रले राम्रै सफलता हात पार्यो । त्यसका साथै अनमोलले हल–हलमा बडीगार्ड लिएर गएको खबरले त मिडियामा गज्जबकै सनसनी मच्चायो । त्यो नेपालको परिपेक्ष्यमा बिल्कुल नयाँ प्रयोग थियो ।

२०१६ मा नै अनमोलको अर्को चलचित्र ‘गाजलु’ रिलिज भयो । सो चलचित्रलाई पनि दर्शकले मन पराए । चलचित्र ब्यापारिक रुपमा पनि सफल सावित भयो । ‘गाजलु’ प्रदर्शनपछि अनमोललाई नेपालको ईतिहासमा सबैभन्दा धेरै पारिश्रमिक दिएर सुवास इंटरटेनमेन्टले आफ्नो चलचित्र ‘कृ’मा निर्माता सुवास गिरीले अनुबन्धित गरे ।

२० लाख रुपैयाँमा अनुबन्धित भएका उनले चलचित्रकै लागि भनेर २ बर्ष भन्दा लामो समय मिडियाभन्दा टाढा बसे । लामोे समय मिडियाभन्दा टाढा बसेका त्यो समयमा यति धेरै क्रेज बढिसकेको थियो की उनको चलचित्रको फस्टलुक आउट हुदाँ हंगामा नै मच्चिएको थियो । तर उनको जति क्रेज बढेको थियो त्यो अनुसारले चलचित्रले भने ब्यापार गर्न सकेन । ३ करोडको लगानीमा बनेको चलचित्रले बल्लतल्ल आफ्नो लगानी सुरक्षित गर्यो ।

लामो समयको बिश्रामपछि आएको चलचित्रे सोचेजस्तो ब्यापार गर्न नसक्दा अनमोल अहिले भने आफ्नै होम प्रोडक्सनको चलचित्र ‘क्याप्टेन’को सुटिङ गरिरहेका छन् । यसका साथै उनले शनिबार झरना थापाको चलचित्र ‘ए मेरो हजुर ३’मा अनुबन्धित भएका छन् । झरनाका आफ्नै छोरी सुहाना थापा नायिका रहने चलचित्रमा अनमोल ३० लाख भन्दा बढी रकममा अनुबन्धित भएको खबर बाहिरिएको छ ।

त्यसैगरी आईतबार साँझ नै उनी मिलन चाम्सद्धारा निर्देशन गरिने चलचित्रमा अनुबन्धित भएका छन् । अहिले नाम नभनिएको चलचित्रको लागि भने नायिकाको खोजी कार्य जारी छ । सुदीप खड्का र निर्देशन चाम्सको निर्देशनमा बन्ने चलचित्रको लागि अनमोलले ४० लाख भन्दा बढि रकम लिएको पिता भुवन केसीले एक अनलाईनसँगको कुराकानीमा बताएका छन् । सम्पूर्ण छायांकन बिदेशमा गरिने यो चलचित्रको अनुमानित बजेट ३ करोड रुपैयाँ भनिएको छ ।

दुईबर्ष भन्दा लामो समय एउटै चलचित्रलाई समय दिएका अनमोलले यो बर्ष भने तीनओटा चलचित्रहरु गर्ने भएका छन् । यो कुराले चलचित्र क्षेत्रमा अनेक किसिमका टिकटिप्पणीहरु सुरु भएको छ । कतिपयले उनलाई तीनओटा चलचित्र गर्न तयारी नपुग्ने हो की भन्नेसम्मको आशंका ब्यक्त गरेका छन् । बजारमा जे–जस्तो चर्चा चलेपनि अब उनले चलत्रिचमा काम गर्ने पक्का भईसकेको छ । उनले अहिले अभिनय गरिरहेको चलचित्र ‘क्याप्टेन’ फागुनमा रिलिज गर्ने कुरा बाहिर आईरहँदा ‘ए मेरो हजुर ३’ले चैत २९ लाई मिती पक्का गरिसकेको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड