घरमा सामान किनेर ल्याएको प्लास्किट कति ठाउँमा प्रयोग गर्न सकिन्छ ?, यो पढ्नुहोस् चाखलाग्दो कथा

भर्खर किनेर ल्याएको एक किलो चिनीलाई आमाले ‘चिनी राख्ने गरेको भाँडो’मा खन्याइन् र प्लास्टिक टक्टक्याइन् । मनमनै सोचिन् – “दाल पोको पारेर राख्न काम लाग्छ ।”

केही दिनपछि, खेततिर जान लागेकी आमाले यसो आकाशतिर हेरिन् – “पानी पो पर्ला जस्तो छ, फोन भिज्ने हो कि?” पोल्टाबाट नोकिया ११०० फोन निकालिन् र त्यहि चिनी किन्दा आएको प्लास्टिकमा पोको पारिन् अनि फेरी पोल्टामा हालिन् ।

अर्को दिन, घाँस काट्न जाने बेलामा अलिकति मकै-भटमास ठीक पारिन्, त्यहि चिनी ल्याएको प्लास्टिकमा पोको पारिन् … ।

“जाँतोमा अलिकति दाल पिंधेर ल्याउँछु ।” अर्को दिन दुई माना जति मास त्यहि प्लास्टिकमा पोको पारिन् र पल्लोघरको जाँतोतिर लागिन् ।

“कान्छा, यो खाजा बालाई पुर्याइदे त” – एक दिन तीन चार ओटा पुरी र एक कचौरा तरकारी त्यहि प्लास्टिकमा हालिन् र बालाई खेतमा खाजा पुर्याउन मलाई अह्राइन् ।

थोत्रो हुँदै गएको प्लास्टिक, अनि मेरो अलि उरन्ठेउलो स्वभाव; खेतबाट फर्कँदा रित्तो कचौरा हालेको प्लास्टिक हल्लाउँदै हिंड्दै थिए, कता बुटोतिर अल्झेर प्लास्टिक च्यातियो ।

“आमा प्लास्टिक नै च्यातियो ।”

“गधा ! आफूलाई यहाँ कत्ति सजिलो भा’थ्यो । जतन भन्ने त कैल्यै जान्या छैन ।” एकपटक आमा मुर्मुरिइन् अनि प्लास्टिक लाई खोपा तिर खाँदिन् ।

एकदिन आमाको चप्पलको लोता चुँडियो । खोपाबाट त्यहि च्यातिएको प्लास्टिक निकालिन्, त्यसलाई बटारेर डोरी जस्तो बनाईन् अनि चुँडिएको लोता गाँसिन् ।

वातावरण दिवस मनाउन भनेर गाउँका थरिथरि अपिसका मान्छेहरु जम्मा भए । वातावरण दिवस मनाउनकै लागि यहि क्षेत्रबाट चुनाव जितेका मन्त्रि पनि आए । प्लास्टिकको जस्तै (ठ्याक्कै के को हो चाहिँ खुट्याउन नसके पनि त्यो कपडाको होइन भन्ने आमालाई पक्का थियो) ठूलो तुल (ब्यानर) बोकेर मूलबाटोमा मन्त्रीसंगै एकहुल मान्छेहरु हिंडिरहेका थिए, जहाँ लेखिएको थियो –

——————————- —————————————–
‘प्लाष्टिक प्रदुषण निर्मूल पारौँ, पुनःप्रयोग गर्न नसके बहिष्कार गरौँ’
विश्व वातावरण दिवस २०१८ (जुन ५, सन् २०१८)

——————————- —————————————–
आदि आदि …

“प्लास्टिकलाई सकेसम्म पुनः प्रयोग गर्नुपर्छ है आमा । अझ सके त प्रयोग नगरेकै राम्रो” बाटो छेउमा उभिईरहेकी आमालाई त्यहि ब्यानर देखाउँदै तिनीहरुले भने ।

घर आउँदै गर्दा, आमाले चप्पलको लोता जोडेको डोरी नै चुँडिएछ । चुँडिएको प्लास्टिकको डोरी आमाको हातमै थियो । पर्खालको ढुङ्गामा बसेर आमाले अराइन् – “कान्छा, हँसिया फुक्लेको फुक्लेइ गर्ने भा’छ । यो पलास्टिक बालेर त्यो हँसियाको बिडमा हालेर राम्रो सँग ठोक्देन लु त ।”

मैले हँसियालाई बिंडमा ठोक्दै गर्दा आमा भन्दै थिइन् – “कस्तो मज्जाको, ठूलो तुल बनाका र’छन् । बर्खा आउन लाग्या छ, काम सक्केपछी हाम्लाई दिए नि त भैंसीको माच माथि हाल्न हुन्थ्यो 🙂 …।” “तर के दिन्थे होला र !” आमाले आफैं संशय ब्यक्त गरिन् – “अर्को वर्षलाई पनि चाहिँने होला नि !”

आमालाई के हेक्का त्यहाँ लेखिएका तिथीमितीका कुरा !!

#WorldEnvironmentDay #BeatPlasticPollution

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड